Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

महिला भए कै कारण ज्यालामा विभेद


समृद्ध अनलाईन १२ मंसिर २०७६, बिहीबार ०८:१२ मा प्रकाशित ( साल अघि) ११६१६ पाठक संख्या

मनोज भट्टराई
ओखलढुंगा, मंसिर १२ गते । लिंगकै आधारमा महिलालाई ज्यालामा विभेद छ । गलत संस्कृति र लैंगिक विभेदका कारण महिला पुरुषबीच ज्यालामा भिन्नता रहेका् हो । दिनभरी पुरुषले हलो जोते एकहजार कमाउँछन् भने दिन भरी महिलाले कोदालो खने पुरुषको भन्दा आधा अर्थात ५ सय मात्र पाउँछन् । लिंगकै आधारमा महिला र पुरुषमा ज्याला असमान हुँदा गरिबीको रेखामुनी रहेका दलित तथा जनजाती महिलाहरु थप मारमा परेका छन् ।
ओखलढुंगाको लिखुगाउँपालिका वडा नं. ६ गाम्नाङटारकी पार्वती विश्वकर्मा उमेरले ३५ नाघिन् । उनी गाउँघरमै मजदुरी गर्छिन् । दैनिक ज्याला मजदुरी नगरे उनको चुलो बल्दैन । अरु कुनै सीपमूलक काम जानेकी पनि छैनन । दिनभरी ज्याला मजदुरी गरेबाफत उनले तीन सयदेखि सात सय रुपैँया कमाउँछिन् । तर उनीसँगै गाउँमा मजदुरी गर्ने नारायण बहादुर भुजलले पाउने ज्याला भने उनको भन्दा दोब्बर फरक छ ।
चलन चल्तीमा गाउँघरमा दैनिक ज्याला आठ सयदेखि एकहजार पाँच सयसम्म चलेको छ । पार्वतीले भने दिनभर परिश्रम गरेर पनि त्यति ज्लाला पाउँदिनन् । उनी दिनको चार सयदेखि सात सयसम्म ज्याला पाउँछिन् कारण, उनी महिला हुन् । महिलाको ज्याला पुरुषको जति हुन्न भन्ने गलत सोच हट्न नसकेका काण पार्वतीले पुरुष मजदुरको तुलानामा नकै कम ज्याला पाउने गरेकी हुन् ।
‘लोग्ने मान्छे भन्दा बढी नै काम गर्छौ तर महिलाले लोग्ने मान्छे बराबर काम गर्न सक्दैनौं भनेर कम पैसा दिने गरेको उनले भनिन् । उनले आफूले पुरुषको तुलनामा कम ज्याला पाउदा दुःख लाग्ने गरेको बताइन् । आफूसरह काम गर्ने पुरुषले आफ्नो दोब्बर ज्याला पाउँदा म माथि अन्याय भो भन्ने लाग्छ तर मेरो मनले जे भने नी समान ज्याला पाउँदिन ।
आफ्नो जमिनको अन्नले ३ महिना पनि खान नपुग्ने भएपछि लिखु गाउँपालिका ६ गाम्नाङ्गटार कै सरीता भुजेल आफूले जानेदेखि नै ज्यालादारी गर्दै आएको बताउँछिन् । तर अहिलेसम्म पनि आफूसँगै काम गर्ने पुरुषसरह ज्याला नपाएकोमा उनलाई भारी दुःख लाग्छ ।
दैनिक खेतबारीमा काम गर्दा पुरुष भन्दा हामी महिलाको काम बढी हुन्छ । तर पनि पुरुषले ६ सय पाउँदा हाम्ले तीन सय मात्रै पाउने गरेको उनले बताईन् अरुको के कुरा गर्नु मसँगै खेतबारीमा मेरो श्रीमान पनि ज्याला मजुदरी गर्नुहुन्छ, पैसा थाप्दा उहाँको पैसा मेरो भन्दा दोब्बर हुने तर एउटै काम गर्दा समेत आफू भन्दा श्रीमानको कमाई धेरै हुँदा हेपिएको महसुस हुने गरेको उनले बताइन् ।
सिद्धिचरण नगरपालिका ७ कि माङङिमा शेर्पा पनि सदरमुकाम आसपासमा पक्की घर निर्माण गर्ने काममा व्यस्त देखिन्छन् । उनमा पनि एउटै काम गरेबाफत पुरुष भन्दा कम पैंसा पाउने गरेकोमा ठूलो हिनताबोध छ । माङङिमा दैनिक ज्यालादारी गर्दा पाँच सय पाउँछिन् । तर उनीसँगै काम गर्ने बेतीनी रुप्सेका डम्बर बिकले भने दैनिक एक हजार कमाउँछन् ।
माङङिमा, डम्बर, सरीता, गणेश, पार्वती लगायत दैनिक ज्याला मजदुरीमा काम गर्ने महिला पुरुषको कामको प्रकृति एउटै हो । तर ज्याला किन फरक त ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ कसैसँग छैन । यद्यपि महिला भन्दा पुरुषको इज्जत र ओहोदा ठूलो छ भन्ने गलत सोचका कारण महिलाले समान काममा पनि पुरुषसरहको ज्याला पाउन नसकेका हुन् ।
एक निर्माण व्यवसायीले ठेक्काको काम सकिएपछि महिला कामदारहरुलाई प्रोत्साहन स्वरुप हजारदेखि दुई हजारसम्म दिने गरेको बताए । बरु प्रोत्साहन स्वरुप हजार दुई हजार नदिएर पुरुषसरहको ज्याला चाहिँ किन दिनुहुन्न भन्ने प्रश्नमा भने वर्षौदेखि चलिआएको चलन आफूले मात्रै तोड्न नसकेको उनले बताए । महिला मजदुरहरु आफू भन्दा कम श्रम गर्ने पुरुषले ज्याला बढी पाउने तर आफूहरुले भने दिन भरी गिट्टी, बालुवा बोक्ने काम गरे पनि पुरुषसरह ज्याला नपाउने अवस्थाको अन्त्य खोजिरहेका छन् । मजदुर पार्वती विश्वकर्माले भनिन्, ‘बोल्नेले बोलिदिन्नन्, हाम्ले बोलेको कसले सुन्छ र ?
जिल्लामा ज्याला निर्धारण समितीले आर्थिक वर्ष २०७४÷०७५ मा दक्ष कामदारका लागि ७ सय ७० र ज्यामीका लागी ५ सय ५५ ज्याला निर्धारण गरेको छ । आर्थिक वर्ष ०७५÷०७६ का लागि दक्ष कामदारलाई ८ सय ५४ र ज्यामीलाई ६ सय १० प्रस्ताव गरेको भए पनि कृषि क्षेत्रमा काम गर्ने कामदारका लागि महिलालाई ५ सय र पुरुषलाई १ हजार दिने गरेको पाईन्छ ।
निर्माण व्यवसायीहरुले घर निर्माण तथा अन्य काममा पुरुषका लागि १ हजार देखि १ हजार ५ सयसम्म र महिलालाई ६ देखि ७ सय रुपैयाँसम्म दिईएको पाईन्छ । ओखलढुंगामा न्युनतम चार सय चालीस देखि ८ सय ४५ सम्म सरकारी ज्याला निर्धारण गरिएको भए पनि सरकारी ज्यालामा कुनै पनि स्थानमा मजदुरले काम भने गरेको पाईन्न । समयअनुसार निर्माण व्यवसायीको कार्यको अनुगमन गरे पनि ज्यालाको कुरा छाँयामा परेको र समान काममा असमान ज्याला प्रदान गरिएको भनि कसैले गुनासो गरे कारबाही गरिने सहायक प्रमुखजिल्ला अधिकारी तुलसी प्रसाद भट्टराईले बताए ।
दस्तावेजका रुपमा समान काममा समान ज्याला भए पनि पुरातनवादी सोच र पुरुषवादी समाजको बाहुल्यताका कारण समान कामको समान ज्याला हुनुपर्छ भन्नेहरुले नै असमान ज्याला दिने गरेको श्री ग्रामोदय युगकवि सिद्धिचरण क्याम्पसकी उप प्राध्यापक नेत्रकुमारी पौडेलको भनाइ छ । महिलाको नाममा अरवौ डलर भित्राउनेहरु ग्रामिण भेगसम्म आई नपुग्ने र महिला सशक्तिकरणका कार्यक्रमहरु कागजमै सिमित भएका कारण नै यो समस्या रहेको पौडेलले बताईन् ।
महिलाको अवस्था
ओखलढुंगामा मात्रै नभय देशका हरेक स्थानमा पुरुष कामदार भन्दा महिला कामदार बढी देखिन्छन् । ग्रामिण भेगका हरेक परीवारमा पुरुषहरु शहर पलायन भएकै कारण हरेक काममा महिलाहरु संख्यात्मक रुपमा बढी देखीने गरेका छन् । निर्माण ब्यवसायीहरुले समेत दुजना मिस्त्रीका लागी एक जना हेल्पर पुरुष र ५ देखी सात जना ज्यामी महिलाहरु नै लगाएको पाईन्छ । रोजगारीको सिलसिलामा पुरुषहरु गाउँबाट पलायन हुन थालेपछि महिला मजदुरहरुको संख्या ह्वात्तै बढेको पाईन्छ । ग्रामिण भेगमा हलो जोत्न देखी लिएर पुनःनिर्माणमा समेत महिलाहरु प्रसस्त मात्रामा खटेका छन् ।
युवा र पुरुषहरु अध्ययन तथा रोजगारीका लागी शहर अनि बिदेश पलायन हुन थाले संगै हरेक क्षेत्रमा महिला कामदारहरुको संख्या बढेको भए पनि एकीन तथ्यांङ्क (अभिलेख ) भने नरहेको पाईन्छ । विशेष गरी खेतीपाती लगाउने र भित्र्याउने समयमा कामदारहरुको आवस्यकता हुने हुँदा यो समयमा पनि महिलाहरु नै बढी काममा खटिएको देखिन्छ ।
निजी स्वामीत्वमा रहेका बिद्यालय (बोर्डीङ स्कुल) मा शिक्षकका रुपमा महिला, सहकारी तथा वित्तीय संघ संस्थाहरुमा महिला, निजी अस्पताल र क्लिनिकहमा नर्स देखी डाक्टरका रुपमा महिला, बिभिन्न गैरसरकारी संघसंस्थाहरुमा कार्यालय सहयोगी देखी फील्ड कर्मचारी र कार्यालय प्रमुखका रुपमा महिला, होटल तथा रेष्टुराँहरुमा वेटर देखी कुकका रुपमा महिला र सञ्चार क्षेत्रमा संचारकर्मीका रुपमा महिला र खेती किसानी तथा कृषिफार्महरुमा दैनीक ज्यालादारी गर्नका लागी काम गर्ने श्रमिक महिलाहरू नै धेरै भइरहेको पाइएको छ ।
केही महिला संचारकर्मीहरु ज्याला नपाएकै कारण पेशाबाट नै पलायन भएको देखिन्छ । कतिपय संचार माध्ययमले मासिक तलव दिने मौखिक सहमती गर्ने र केही महिना बितेपछि तलव नदिने गरेको कारण आफूहरु पेशाबाट नै पलायन हुनु परेको बिभिन्न संचार माध्ययममा काम गरी पलायन भएका पुराना महिला संचारकर्मीहरु बताउँछन् । जिल्लामा एक ं. प्रदेशमा दर्जनौ महिला संचारकर्मीले तलव नपाएकै कारण पेशाबाट पलायन हुनु परेको छ ।
सुरुमा कार्यक्रम संचालीकाको भुमीकामा रेडीयो प्रवेश गरेको भए पनि पछिल्लो समय समाचार र प्राबिधिक पाटो समेत आफैले गर्नु पर्ने बाध्यता भएपछि तलव बढाउने आश्वासन पाए पनि लामो समय सम्म तलव नपाएकै कारण आफ्नो रुचिको बिषय भए पनि पेशाबाट नै हराउनु परेको रेडीयो श्रोतामाझ लोकप्रीय बनेकी सानु लामाले बताईन् ।
संचार माध्ययममा नियुक्ती पत्र नदीएकै कारण आफूहरु कानूनी उपचारबाट बञ्चित हुनु परेको तत्कालीन समयमा रमाईलो सामुदायीक रेडीयोमा समाचार साहयकको रुपमा कार्यरत मुना खतिवडाको भाई छ । सबैभन्दा बढी श्रम शोषण निजी क्षेत्रमा नै हुने गरेको नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका कोषाध्यक्ष बोधनारायण श्रेष्ठको भनाई छ ।
मजदुरलाई महिना बित्नासाथ तलब नदिने, कम्पनी तथा निजी क्षेत्रमा नियुक्ति पत्र नदिने, तोकिएको बिदा पनि नदिने चलन रहेको छ । कामदार महिला र निजी क्षेत्रको सम्बन्ध कामदार र व्यवस्थापक नभई मालिक र मजदुरको जस्तो रहने गरेको छ ।
कानूनी ब्यवस्था
श्रम ऐन २०७४ को दफा ६ मा ‘रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिङ्ग, जातजाति,त्पत्ति, भाषा वा वैचारिक आस्था वा अन्य त्यस्तै आधारमध्ये कुनै कुराको आधारमा भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लेख गरिएको छ । सोही ऐनको दफा ७ मा समान कामको लागि पारिश्रमिकमा भेदभाव गर्न नहुनेः (१) लिङ्गको आधारमा श्रमिकबीच समान मूल्यको कामको लागि पारिश्रमिकमा भेदभाव गर्न हुँंदैन । भन्ने लेखिएको छ ।
श्रम ऐन २०७४ को दफा २८ मा ‘रोजगारदाताले श्रमिकलाई प्रतिदिन आठ घण्टा र एक हप्तामा अठ्चालीस घण्टाभन्दा बढी समय हुने गरी काममा लगाउन पाइने छैन’ भन्ने पनि लेखिएको छ । दफा २८ को उपदफा (२) मा श्रमिकलाई लगातार पाँच घण्टा काम गरेपछि आधा घण्टा विश्रामको समय दिनु पर्नेछ । भनिएको छ भने उपदफा (३) मा काम रोक्न नहुने तथा लगातार काम चलाइरहनु पर्ने भएमा श्रमिकलाई त्यस्तो विश्रामको समय आलोपालो गरी दिनु पर्नेछ । भन्ने उल्लेख गरिएको भए पनि कानून कार्यान्वयनको पाटो त परको कुरा नियमित अनुगमन समेत भएको पाईंदैन । कानूनमा उल्लेख भए बमोजिम ज्याला नदिए, महिला भएकै आधारमा ज्यालामा विभेद भए कानून बमोजिम कारबाही समेत हुने ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको प्रतिवद्धता छ ।