आज:  | Mon, 03, Aug, 2020
FLASH NEWS

मेरो गाउँः पोकली


समृद्ध अनलाईन २७ चैत्र २०७६, बिहीबार ११:१७ मा प्रकाशित ( महिना अघि) १२७ पाठक संख्या

वासु गौतम

न्यानो घाम शनै चियाउछ सदा ओछ्यानमै सुस्तरी
हावा मन्द मुसार्छ सौम्य गतिमा सर्वाङ्ग मीठो गरी
पक्षी गीत अनन्त सुस्त स्वरमा घन्काउछन् बेसरी
छर्दै स्वच्छ सुवास पुष्प कलिला मुस्कान बाड्छन् झुली

अग्ला श्वेत अपूर्व दृश्य गिरिको उम्दा उषा कालको
मीठो कञ्चन लालिमा सगरको बेजोड सूर्यास्तको
चोखो आबहवा सधैं प्रकृतिको आल्हादकारी छटा
खोलाको अति रम्य गुन्जन अहो१ रोमाञ्चकारी सदा
 २ 
चुत्रो, काफल, आँप, जामुनुसँगै ऐसेलुको स्वाद झन्
लाखौं सुन्दर फूलले प्रकृतिको सौन्दर्य झल्काउछन्
अग्ला पर्वत, सम्म टार बिचमा बग्ने अनेकौं नदी
फेर्दै दृश्य सदा बहार वनले लोभ्याउछन् बेसरी
 ३ 
चारैतर्फ सुरम्य शान्ति मनमा आमोद वर्षाउने
प्यारो सुन्दर शान्त गाउँ मनका दुर्भाव मेटाउने
तारे भीर, पहाड, खोच, झरना मैदान, बेंसी, नदी
प्यारो लाग्छ सदैव गाउँ अति नै त्यो स्वर्गभन्दा बढी
 ४ 
पाखा छन् रसिला, सुरम्य वनको पाइन्छ आस्वादन
गर्दै सिञ्चित बग्छ त्यो लिखु नदी सङ्लो सधैं कञ्चन
देवी छिन् चुलिकी सदैव शिरमा आराध्य यो भेगकी
त्यो अग्लो झरना बिचित्र रचना भूस्वर्ग हो पोकली
 ५ 

पोकली, ओखलढुंगा