आज:  | Mon, 03, Aug, 2020
FLASH NEWS

कोरोनाले सिकाएको पाठ


समृद्ध अनलाईन २७ जेष्ठ २०७७, मंगलवार ११:१८ मा प्रकाशित ( महिना अघि) ५६९ पाठक संख्या

शिवराज गौतम प्रयासी

विश्व महामारी कोरोना भाईरस (कोभिड १९) काकारण नेपाली जनजीवन गत चैत्र ११ गते देखि पूर्ण रुपमा बन्दाबन्दीमा छ । यो बन्दाबन्दी (लकडाउन) को कारणले धेरै मानिसलाई धेरै कुरा सिकायो । कतिलाई अतिनिराश साथै मनोरोगी पनि बनाएको छ । नैरश्यतालाई छोड्ने हो भने प्राय सबैले केहि न केहि नयाँ कुरा सिकिरहेका नै छन् । कोही घरभित्र खेलिने खेल सुधार, कोहीअक्षर सुधार, कोही पठनपाठन, रहनसहन, खानपान, बानीव्यवहार, घरपरिवार सँग अत्यन्तै घुलमिल त कोही सिर्जनशील काममा सुधार आदि÷आदिगरिरहेकै छन् । नेपाली भाषा, साहित्यकारहरु यो समयमा धेरै कविता छन्दमा समेत सुधार गरिरहेका छन् ।
शहरको मात लागेका, धनको उन्माद भएकाहरुलाई पनि यसले आफ्नो गतिविधि पुनःविचार गर्न सचेत गराएको छ । धेरै नेपालीहरुलाई पश्चिमा संस्कार र संस्कृति भन्दा हाम्रो आफ्नै मौलिक पूर्विय संस्कृति र संस्कार निकै मन परिरहेको छ । हात मिलाउनु भन्दा ‘नमस्कार’ आम्ने साम्ने भन्दा छड्के, कुनै कुरा पकाउँदा चाख्ने भन्दा नचाख्ने, देवी देवतालाई चढाउनु पर्छ भनेर चोखो राख्ने प्रचलन, भान्साबाहेक अन्यत्र खाना नखाने, भान्सामा सफा कपढा लगाउने, दैनीक नुहाउने, हातखुट्टा धोईरहने, ध्यान, योग, तुलसी रोप्ने, बाटोघाटोमा चौतारी बनाउने, वरपीपल रोप्ने, पूर्वजका चालचलन कुनै जात, धर्म र व्यक्तिको लागि नभई सिङ्गो मानव जातिका लागि कल्याणकारी रहेको कुरा आज लकडाउनमा बस्दा र यी सबै कुराको सूक्ष्म विश्लेषण गर्दा उपयुक्त लाग्न थालेको छ । कतिपय प्राचीन प्रचलनहरु वर्तमान परिवेशमा अलि जटिल जस्तो लागे पनि हामीले आफँैलाई सुधार गर्नुपर्ने देखिएको छ । यी कुराहरु यही महामारीले नै सिकाएको छ ।
गाँउको जग्गा जमिन, पाखा, भाङ्गटार र कामनलाग्ने भनेका आज कुनै न कुनै समयमा आवश्यक पो पर्ने रहेछ किभन्ने कुरा सोच्न बाध्य बनाएको छ । मानिस एक्काइसौँ शताब्दी भन्दै ठूला–ठूला कुरा गर्ने र विश्व भू–मण्डलीकरणमा प्रवेश गरेको परिथ्तििमा यसले स्थानिय माटो प्रतिको ममता बढाएको छ । विश्व भरि वा नेपाल भित्र जुनसुकै ठाँउमा भए पनि अब जमीनको महत्व बढ्दै छ । भूमि सर्वधन रहेछ जस्ता भन्ने अनुभुती गर्न कर लगाएको छ । व्यापार, व्यवसाय, उद्योग, भ्रमण, मनोरञ्जन, विकास जस्ता कुराहरु गौण बन्दै गईरहेका छन् । सबै नागरिक अबको संभावित भोकमरी र कष्ट तर्फ सोच्न थालेका छन् । निम्नवर्गलाई छोडिदिने हो भने मध्यमवर्ग पनि अब खानै नपाएर मरिने पो हो कि ? भन्ने चिन्तामा पिरोलिएकाहरु कसरी जिउने भन्ने तर्फ चिन्तन गर्न थालेका छन् । प्राण धान्ने पहिलो आधार भूमि÷जमीन नै हो भन्ने निष्कर्शका साथ आफ्नो प्यारो ‘जन्मभूमि’को खोजीगर्न थालेको र पैत्रिक सम्पतीको चासो राख्न थालेका छन् । बाँच्नका लागि मानिसले गाँउ र कृषिव्यवसाय, बाँझाबारी खनी खेतीपातीतर्फ आकर्षण बढाईरहेका छन् । नेपालीहरुलाई हरेक दुखमा ‘गाँउ’ ले साथदिँदै आएको पनि छ । भुकम्प आयो, दशैँ आयो, काम पाइएन, अन्यत्र दुख प¥यो, कोरोनाको प्रभाव बढ्न थाल्यो वा कुनै महामारी आयो ‘गाँउ’को झलझल सम्झना आइहाल्छ, हुन पनि गाँउमा जिउदाँका जन्ती र मर्दाका मलामी हुने ठाँउ हो । त्यहाँ सामूहिकताको भावना भेटिन्छ । ५÷६ महिना श्रम गर्दा १ वर्ष सजिलै बाँच्न सक्ने पेशा कृषि र भूभोग गाँउ नै हो । त्यसैले कृषि प्रतिको जनमानसमा चासो बढ्न थालेको छ । कृषिप्रति सकारात्मक धारणा बढाएको छ । वर्तमान समयमा नै मानिसले ठुलो खेतीहोस् या सानो खेतीगर्न तर्फ प्रेरित भईरहेका छन् । शहर बजारमा बस्नेहरु पनि करेसाबारी, कौसी खेती, त्यो पनि भएन भने छतमा गमलमा टमाटर, खुर्सानी, प्याज र धनियाँ जस्ता बाली नालीहरु समेत आफैँ लगाउन अग्रसर भएका छन् । यो कोभिड १९ ले विश्वकै अर्थतन्त्रमा व्यापक परिवर्तन ल्याए सँगै नेपालमा हामीलाई अनेकौँ कुराहरु सोच्न बाध्य बनाएको छ ।
सरकारले पनि भर्खरै प्रस्तुत वजेटमा भूमिग्राम, कृषिग्राम, कृषिविज्ञ र पशुविज्ञ गाँउमा पठाउने उल्लेख गरेबाट पनि गाँउको महत्व बढेको अनुभुति गरिएको छ । देशमा विभिन्न चरणमा विभिन्न नाराहरु आकर्षक बने । “गाँउफर्क अभियान”, “आफ्नो गाँउ आफै बनाँऔ”……आदि । तर यी नाराले सार्थकता पाउन सकेन । गाँउका जग्गा जमिनलाई सिंचाई गर्ने, नहर, पैनी, कुला, खोल्सा मासेर÷नासेर प्राविधिक सर्वे बिना नै सडक खन्नथाले त्यसले हिउँदमा धुलो वर्षामा हिलो र दुर्घटना निम्त्यायो । सबै गाँउवस्ती उजाड बनायो । बाँझा जमीनमा कुलाको पानी सिंचाई गरेर आफ्ना लागि आफै परिश्रमले आफ्नै जमीनमा आफैँ उत्पादन गर्ने प्रणाली, आपूmलाई चाहिने सम्पुर्ण कुरा आफैँ व्यवस्थापन गर्ने तरिकालाई छोडेकाले यी कुराहरु यो विपदमा सोच्न बाध्य बनायो । स्वदेशमा बस्ने होस् या विदेशबाट फर्किएका लाखौँ युवाहरुका लागि गाँउ नै उचित आश्रयस्थल बन्ने सम्भावना देखिएको छ । यी सबै कुराहरु सोच्न यो कोरोना महामारीले नै बाध्य बनाएको हो । त्यसैले कोरोनाले हामीलाई आत्म अनुशासनमा बस्ने, सामूहिक कृषि प्रणाली अबलम्ँबन गर्ने, आधुनिक खेतीपाती तर्फ लाग्न प्रेरित गरेको छ र राष्ट्रलाई पनि कृषि, उर्जा, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा वजेट बढाउन प्रेरणा दिएको छ ।