आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

मलेसियाको सुवाङ पार्कमा अलपत्र पिन्तुमाको कस्ले गर्ने उद्धार ?


समृद्ध अनलाईन ९ भाद्र २०७७, मंगलवार ०९:४७ मा प्रकाशित ( महिना अघि) ५६ पाठक संख्या

ओखलढुंगा, भदौ ९ गते । ओखलढुंगाकी एक महिला वर्षौंदेखि मलेसियामा अलपत्र परेकी छन् । मानसिक सन्तुलन गुमाएकी मोलुङ गाउँपालिका ८, राँगादिपकी उनी मलेसियाको सडकमा अलपत्र परेकी हुन् ।
ओखलढुंगा एकता सेवा समाज मलेसियाले उनलाई नेपाल पठाउन खोजेपनि उनको साथमा रहेको बच्चाको जन्मदर्ता लगायतको कुनै प्रमाण नभएपछि इमिग्रेसनले अनुमति नदिएको मलेसियाबाट हिराबहादुर थापाले बताए । उनको साथमा अन्दाजी सातवर्षको छोरा पनि रहेको छ । मलेसियामा कार्यरत जिल्लावासीहरुले उनलाई उद्दार गरि नेपाल पठाउन खोजे पनि नसकेको थापाकाके भनाई छ । पना राई नाम बताउने उनको अवस्था एकदमै दयनीय रहेको जानकारी दिंदै महिलाको उद्दारमा नेपालबाट नेपाल सरकारले सहयोग गर्नुपर्ने उनले बताए । कागजी प्रक्रियाका लागि नेपाल सरकारले सहयोग गरे यहाँबाट उनलाई पठाउन हामीले बाँकी बन्दोबस्त गर्ने उनले बताए ।
आमा बच्चा अहिले मलेसियाको क्वालालम्पुरस्थित सुवाङ पार्कको छाप्रोमा ६ महिनादेखि बस्दै आएको बताइएको छ । दुवै जनाको कानूनी हैसियत नभएका कारण उनलाई नेपाल पठाउन सकिएको छैन । मलेसियाको लागि नेपाली राजदूताबासका अनुसार लकडाउन अघि नै दूतावासले दिएको आश्रयस्थल छोडेर उनी हिँडेकी थिइन् । ती महिलाले छोराको बाबु र नेपालको यकिन घर ठेगाना नबताउँदा स्वदेश पठाउने कागजात बनाउन नसकिएको दुताबासको भनाइ छ ।
ती महिला मोलुङ ८ कै विष्णुबहादुर राईकी कान्छी छोरी भएको वडाअध्यक्ष हरिकुमार राईले बताए । वडाअध्यक्ष राई अनुसार ती महिलालाई गाउँमा बोलाउने नाम पिन्तुमा भएको र उनी १० वर्षअघि विदेशिएकी हुन् । उनको बुवाआमा दुवै बितिसकेका छन् । उनका दाजु समेत करिब एक दशक मलेसिया गएर हालै फर्किएका छन् । बिना कमाई फर्किएपछि दाजुको अवस्था समेत नाजुक रहेको छ । गाउँमा हुँदै दुई विवाह गरेकी उनी विदेश गएपछि सम्पर्क विहिन रहेकी थिइन् ।
उनको उद्धार तथा उपचारको व्यवस्थापन कस्ले गर्ने भन्ने विषयमा स्थानीय सरकारले भुमिका खेल्न जरुरी देखिन्छ ।