आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

प्रदेश १ लाई ५ बर्ष भित्रमा बालविवाहमुक्त बनाईने


समृद्ध अनलाईन २९ भाद्र २०७७, सोमबार २१:०६ मा प्रकाशित ( हफ्ता अघि) ७४ पाठक संख्या

अर्जुनधारा ,२९ भदौ । प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए ।

राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन आज सार्वजनिक गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।सामाजिक संघ संस्था, सरोकारवाला व्यक्तिहरु सवैको सहकार्य आवश्यक रहेको मुख्यमन्त्री राईको भनाई छ ।

कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार भएर गएको बताए । बालविवाह र बालश्रममा सुधार हुन नसक्नु दुखत कुरा भएको बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडकमा बालबालिका बस्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएकी छिन् ।सडक बालबालिकालाई उद्धार गर्ने काम भईरहेको र हाल सम्म प्रदेश १ मा ५३ जना सडक बालबालिकाको उद्धार भएको बताईन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकहरुको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको र प्रदेश १ मा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको बताए ।