आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

ओखलढुंगाका ६ स्थानीयतहमा ५ बेडका कोरोना अस्पताल बन्ने


समृद्ध अनलाईन ३० भाद्र २०७७, मंगलवार ०९:१३ मा प्रकाशित ( हफ्ता अघि) १३८ पाठक संख्या

ओखलढुंगा, भदौ ३० गते । ओखलढुंगाका ६ स्थानीय तहमा ५ बेड क्षमताका कोभिड अस्पताल बन्ने भएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि हरेक स्थानीय तहमा कोभिड अस्पताल निर्माण हुने भएका हो ।
अस्पताल निर्माणका लागि सघीय सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालयमा बजेट समेत पठाएको परिपत्र गरिसकेको छ । अस्पताल नभएका देशभरका ६ सय ४९ स्थानीय तहमा कोरोना संक्रमण बढ्दै गएपछि कम्तिमा ५ बेडका अस्पताल बनाउने सरकारले निर्णय गरेको थियो । सोही अनुरुप ओखलढुंगाका ६ तहले बजेट पाएका छन् । यसरी बजेट पाउने तहमा चिशंखुगढी, मोलुङ, मानेभञ्ज्याङ, खिजीदेम्वा, लिखु र सुनकोसी गाउँपालिका रहेका छन् ।

हाललाई अपुग बजेट स्थानीय तहबाटै व्यवस्था गर्नु पर्ने गरि अस्पताल सञ्चालन निर्देशिका समेत तयार गरि पठाइएको छ । आएको बजेट तत्काल कार्यन्वयन गर्न संघीय सांसद यज्ञराज सुनुवारले स्थानीय तहलाई आग्रह समेत गरेका छन् । उनले थप बजेटका लागि सरकारसँग पहल गरिने बताए ।

ओखलढुगामा सिद्धिचरण नगरपालिकामा जिल्ला अस्पताल र चम्पादेवी गाउँपालिकामा प्रथामिक स्वास्थ्य केन्द्र रहेका छन् । अन्य तहका लागि साविकको पूर्वाधार बनेका र उपयुक्त स्वास्थ्य चौकीलाई नै अस्पतालका रुपमा स्तर बृद्धि गर्नु पर्ने बताईएको छ । यसका लागि पहिलो चरणमा एक डाक्टर दुइ स्टाफ नर्स र एक सहयोगी कर्मचारी सहितका लागि १० लाख निकासा भइसकेको छ ।