आज:  | Sat, 24, Oct, 2020
FLASH NEWS

कोरोना संक्रमितको एम्बुलेन्समै मृत्युु


समृद्ध अनलाईन १६ आश्विन २०७७, शुक्रबार १५:१५ मा प्रकाशित ( हफ्ता अघि) ८६ पाठक संख्या

विराटनगर, असोज १६ गते । कोरोना संक्रमित दुई जना पुरुषको एम्बुलेन्समा नै मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि विराट मेडिकल कलेजमा लगिएका दुई जनाको शुक्रबार एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।मृत्यु हुनेमा सुनसरी खनारका एक वृद्ध र सिरहाका एक पुरुष छन् । उनीहरूलाई थप उपचारका लागि मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालको आइसोलेशनमा लगिएको थियो ।
तर दुवै जना दिउँसो १२ः३० बजेतिर एम्बुलेन्समै मृत्यु भएको अवस्थामा भेटिएको अस्पतालका आइसोलेशन इन्चार्ज सुनिल देवले बताए ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध पुरुषको पीसीआर परीक्षण रिपोर्ट तीन दिनअघि पोजेटिभ आएको थियो । उनी ‘होम आइसोलेशन’मा बसेका थिए ।
श्वासप्रश्वासको समस्या बढ्दै गएपछि आइसोलेशनमा राखेर उपचार गराउन एम्बुलेन्समा राखेर विराट शिक्षण अस्पताल ल्याइएको थियो ।
देवले वृद्धको ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको हुनसक्ने बताए । ‘आइसोलेशनमा उपचारका लागि लैजाने तयारी हुँदैगर्दा वृद्धको मृत्यु एम्बुलेन्सभित्रै भइसकेको पाइयो,’ उनले भने, ‘बिरामीलाई बाहिर निकाल्न एम्बुलेन्सको ढोका खोलेर हेर्दा मृत्यु भइसकेको अवस्थामा पायौं ।’
वृद्धमा दम, उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको देवले बताए ।
विराटनगरको नोबेल मेडिकल कलेजबाट थप उपचारका लागि विराटतर्फ लगिँदै गरेका सिरहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषको पनि एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।
उनको सोमबारयता नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बिहीबारसाँझ रिपोर्ट पोजेटिभ आएपछि नोबेलले थप उपचारका लागि विराटको आइसोलेशनमा रेफर गरेको थियो ।
आइसोलेशनमा लैजाने तयारी भइरहँदा उपचारका लागि ल्याएको एम्बुलेन्सभित्रै पुरुषको मृत्यु भएको पाइएको आइसोलेशन इञ्चार्ज देवले जानकारी दिए । उनका अनुसार मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो ।
शुक्रबार दिउँसो विराटनगर–१४ की महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।