आज:  | Fri, 23, Oct, 2020
FLASH NEWS

प्रदेश १ मा मंगलबार विहानै तिन कोरोना संक्रमितको मृत्यु


समृद्ध अनलाईन २० आश्विन २०७७, मंगलवार ०९:३३ मा प्रकाशित ( हफ्ता अघि) ५२ पाठक संख्या

विराटनगर,असोज २० गते । प्रदेश १ मा मंगलबार एकै दिन तिन कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा मोरङका दुई र धरानमा एक गरी तिन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना कोरोना भाइरस संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।
मृतक दुवै पुरुष मोरङकै हुन् । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको बताए । उनका अनुसार मृतकमा ब्लड क्यान्सरको पुरानो समस्या थियो ।
सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनलाई ज्वरोको समस्या पनि थपिएको दाहालले बताए । स्वाब संकलन गरेर नोबेलकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताए । पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका पुरुषलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर थप उपचार थालिए पनि बचाउन नसकिएको उनको भनाइ छ ।
त्यस्तै छ दिनअघि कोरोना पुष्टि भएका रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर मृत्युु भएको जानकारी दाहालले दिए । उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएका पुरुषको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको उनले बताए ।
मधुमेहको पुरानै समस्या रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको उनको भनाइ छ । कोरोना पुष्टि भएपछि उनलाई आइसोलेसनमा आईसीयूमा राखेर उपचार थालिए पनि बचाउन नसकिएको जानकारी दाहालले दिए ।
यता सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरान वडा नं ३ का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।उपचारको क्रममा ६४ बर्षीय वृद्धको बिहान ४ बजेर २० मिनेटमा मृत्यु भएको हो । सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मृतकलाई मधुमेह थियो भने विगतमा टिबि पनि भएको थियो । उनको असोज १२ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । सोही दिन उनलाई कोडिभ अस्पतालमा भर्ना गरिएको थियो ।