आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

तिहारको रमझम


समृद्ध अनलाईन २९ कार्तिक २०७७, शनिबार ०९:०९ मा प्रकाशित ( महिना अघि) २५८ पाठक संख्या

कार्तिक २९ गते । तिहार अहिले केवल सांस्कृतिक पर्वको पाटो मात्र रहेको छैन । आर्थिक, व्यापारिक कारोबारका निम्ति अधीर प्रतीक्षाको अवसर पनि बनेको छ ।
उज्यालोको मेला, फूलको रौनक, आनन्दको उत्सव र सद्भावनाको प्रतीक पर्व हो तिहार । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म धूमधामसाथ मनाइने तिहारलाई दीपावली, दीवाली तथा यमपञ्चक पनि भनिन्छ ।


तिहारको एक नाम ‘सुखरात्रि’ पनि हो । शास्त्रमा वर्षभरिका रात्रिमध्ये चारवटालाई विशेष मानिएको छ । ती हुन्– महाशिवरात्रि, मोहरात्रि, कालरात्रि र सुखरात्रि । भगवान् शिवको उत्पत्ति भएको फाल्गुण कृष्ण चतुर्दशीको रात्रि महाशिवरात्रि, भाद्र कृष्णपक्षको अष्टमी तिथिको रात्रि अर्थात् भगवान् कृष्णको जन्माष्टमी रात्रि मोहरात्रि, आश्विन शुक्ल पक्ष, महाष्टमीको रात्रि कालरात्रि र कार्तिक औँसीको रात्रि सुखरात्रि हो ।

महालक्ष्मीको पूजा गरिने रात्रिलाई सुखरात्रि भन्दछन् । समुद्र मन्थनका बखत यही दिन महालक्ष्मी प्रकट भएको पौराणिक वर्णन छ ।

 


कागतिहारदेखि भाइतिहारसम्म मनाइने यमपञ्चकले धार्मिक÷सांस्कृतिक, सामाजिक, पारिवारिक परम्परा निर्वहन गर्दै मानवीय मूल्य र मान्यतालाई सर्वोपरि राखेको पाइन्छ । कृषिप्रधान नेपालमा बाली भित्र्याइएपछि हर्षोल्लासपूर्वक मनाइने तिहारले यहाँको सामाजिक, आर्थिक पाटोलाई पनि दर्शाएको छ ।