आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

खोटाङमा आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना, दिप्रुङले गर्यो किसानलाई बाख्रा वितरण


समृद्ध अनलाईन ९ मंसिर २०७७, मंगलवार १६:१६ मा प्रकाशित ( महिना अघि) १४७ पाठक संख्या

खोटाङ, मंसिर ९ गते । खोटाङमा डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको हो ।
ल्याब स्थापना भएपछि खोटाङबाट सुनसरीको झुम्का प्रयोगशालामा लगेर माटो परिक्षण गर्नुपर्ने बाध्यता हटेको छ । सोल्मामा स्थापना गरिएको प्रयोगशालामार्फत् ४८ घण्टामै परीक्षणको रिपोर्ट आउने बताइएको छ । यस अघि परिक्षणको रिपोर्ट आउन एक महिना कुर्नु पर्ने बाध्यता रहेको थियो । पशुतर्फ कृत्रिम गर्भधारण, पशुपंक्षीको स्वास्थ्य परीक्षण लगायतका काम ल्याबबाट नै प्रवाह हुने नगर प्रमुख दीपनारायण रिजालले बताए । नगरपालिकाले गत शनिबार नै नगरभित्रका १५ ओटै वडा कार्यालयलाई चार लाख बराबरको माटो परीक्षण उपकरण हस्तान्तरण गरेको छ ।
नगरपालिकाको चार लाख ९६ हजारको लागतमा वडा नं २ सोल्मास्थित प्राङ्गारिक मल तथा बायो ग्यास उद्योगसँगै डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको हो ।
त्यस्तै गरि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ४९ जना किसानलाई बोयर तथा खरि जातको बाख्रा वितरण गरेको छ । स्वीस विकास सहयोग नियोग (एसडिसि)को आर्थिक सहयोग एबं नेपाल कृषि सेवा विकास कार्यक्रम (प्रयास)सँगको साझेदारीमा गाउँपालिकाले बोयर बाख्रा वितरण गरेको हो ।
व्यवसायीक रुपमा बाख्रा पालन गरिरहेका दुई जना किसानलाई एकरएक वटा सतप्रतिशत शुद्धता भएको बोयर बोका, सात जना किसानलाई एकरएक वटाका दरले ५० प्रतिशत बोयर बोका, बाख्रा पालनमा मेहनत गरिरहेका ३० जना अतिविपन्न तथा सिमान्तकृत महिलालाई जनही चार वटाका दरले १२० वटा खरि जातको बाख्रा र कोभिड–१९ का कारण बैदेसिक रोजगार गुमाएका १० जना युवालाई जनही पाँच वटाका दरले ५० वटा खरि बाख्रा वितरण गरिएको गाउँपालिका गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईलले बताए । गाउँपालिकाले अतिविपन्न तथा सिमान्तकृत समुदायका महिला, कोरोना भाइरसका कारण रोजगार गुमाएर विदेशबाट फर्किएका युवा तथा गाउँमै व्यवसायीकरुपमा बाख्रा पालनमा क्रियासिल बाख्रा पालक किसानलाई १८९ वटा बोका तथा बाख्रा वितरण गरेको छ ।