आज:  | Thu, 21, Jan, 2021
FLASH NEWS

झापामा भारतीय एसएसबीले सिमास्तम्भ भत्कायो


समृद्ध अनलाईन १० मंसिर २०७७, बुधबार १०:२३ मा प्रकाशित ( महिना अघि) १११ पाठक संख्या

अर्जुनधारा, मंसिर १० गते । झापाको सीमामा पर्ने गौरीगञ्ज गाउँपालिका –२ दरियालबस्ती नजिकै कनकाई माईको किनारमा रहेको १९ नम्बर सीमास्तम्भ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काएको छ । स्थानीयले भारतीय एसएसबीले भत्काएको अवस्थामा सीमास्तम्भ फेला पारिएको जानकारी दिएका छन्‌ ।केही दिनदेखि सो क्षेत्रमा चहलपहल बढाइरहेको एसएसबीको टोली ​हातहतियारसहित प्रवेश गरेर सीमास्तम्भ भत्काइ फर्किएको स्थानीयले बताएका छन्‌ । १३/१४ जनाको समूहमा आएको एसएसबीले १९ नम्बरको पिलर भत्काएर काँसले छोपेर गएको स्थानीय जेठा मुर्मुले बताए । उनले स्तम्भ सार्नकै लागि एसएसबीले फुटाएको आशंका गरेका छन्‌ ।

गौरीगञ्ज गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेका मुर्मुले भने, ‘एसएसबीले नेपाली भूमिमा प्रवेश गरी कसैलाई जानकारी नदिई पटक-पटक अनुगमनका नाममा आएर फर्किन्छ, सोहीबेला यस्तो घटना भएको छ ।’ सीमा अतिक्रमणका लागि १४३ (३) नम्बरको पिलरदेखि नेपालतर्फ नयाँ खाल्डो समेत खनेको अवस्थामा फेला परेको छ। पिलर सार्नकै लागि नयाँ खाल्डो खनिएको स्थानीयको दाबी छ । गत वर्ष गौरीगञ्जको पिण्डालभुटुस्थित बुद्धिलाल हेमरमको आँगनमा आएर एसएसबीले सीमा स्तम्भ गाडेका थिए । त्यसैको एक वर्षपछि फेरि एसएसबीले स्तम्भ सार्न चहलपहल बढाएको स्थानीयवासीहरू बताउँछन् ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेका अनुसार सीमा स्तम्भ अवस्थामा फेला परेको छ । सीमास्तम्भ भत्काएको थाहा पाएपछि सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
सशस्त्र प्रहरीसँगै भारतीय एसएसबीको पनि उपस्थिति रहेको,तर, सीमास्तम्भ  कसले भत्काएको भन्‍ने विषयमा एसएसबी पनि अनभिज्ञ रहेको प्रतिक्रिया आएको पाण्डेले बताए ।