आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

ओखलढुंगा,पोकली


समृद्ध अनलाईन १४ मंसिर २०७७, आईतवार २१:३७ मा प्रकाशित ( महिना अघि) २९४ पाठक संख्या

-रमला पौडेल (दहाल)

ओखलढुंगा प्रकृतिभरको जूनको राजधानी
त्यै धानीको मुकुटसरि हो पोकलीको जवानी
अग्लो झर्ना चमक छ हिरा झैँ सधैँ टल्टलाइ
साच्चै सुस्ती नगर न ढिला पोकली पुग्नलाई

रिठ्ठे झाँक्री दह नजिक थे किंवदन्ती छ यस्तो
गाग्री भाँडा अपुग नरले लग्न मिल्थ्यो झिकिन्थ्यो
दुग्धेश्र्वरका शिव समिपका पाउ आऊ समाऊ
तीर्थात्री हो वय पयरले पोकली घुम्न आऊ

ठेकी, ढुङ्ग्रा वलन रसका हेर नेती मदानी
बाक्लो मोहीसँग फुलमकै खाऊ नास्ता बिहानी
चण्डी ,सेलो,भजन जनका पञ्चबाजा सुनिन्छन्
चौबन्दीका समुहजननी फूल सत्कार गर्छन्

हाम्रा सारा नव समयका पौरखी हेर्न आऊ
च्याख्ला,सिस्नो मधुर लयका स्वाद फेरेर खाऊ
न्यानो पार्ने सिरकसरिका गोठमा छन् भकारी
ताप्छन् आगो अतिथिजनले साल अग्राख बाली

रोज्दै आऊ कविमनहरू बग्दछन् काव्यधारा
खोज्दा मिल्ला रुपक अथवा छन्द आख्यान सारा
फुर्छन् नौला गजल कविता सौम्य यो कन्दरामा
खाली पाना भर कवि यतै पोकलीको गरामा

जन्मै तिम्रो सहर छभने गाउँको बिम्ब चाख
दृष्यै चुम्ने रहर छभने पोकली याद राख
ओखलढुंगा नद सुन नदी दूध जस्ता नदी छन्
झर्छिन् गङ्गा सललल लिखू हेर कस्ता नदी छन्

 २०७७/०८/१३ पोकली, ओखलढुंगा