आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

ढुंगेलको “देश र आमा” विमोचन


समृद्ध अनलाईन १६ पुष २०७७, बिहीबार ११:३७ मा प्रकाशित ( हफ्ता अघि) १५७ पाठक संख्या

 तुलसीप्रसाद निरौला
 बिर्तामोड , पौष १६ गते। साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलको  चौथो कृति कविता तथा गीति संग्रह देश र आमा झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।  मातृकला साहित्य आश्रम मेचीनगरको आयोजना तथा सरगम संगीतालय बिर्तामोडको सह आयोजनामा भएको कार्यक्रममा उक्त कृतिको बिमोचन गरिएको हो ।

प्रा.डा. टंक न्यौपाने , प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, साहित्यकारहरु कोमलप्रसाद पोखरेल , पुण्यप्रसाद खरेल , राजेन्द्र संग्रौला , देवीभक्त श्रेष्ठ , शिवशंकर थापा , प्रेमप्रकाश फलाहारी, देवी संग्रौलालगायतले कविता तथा गीति संग्रह देश र आमाको एकसाथ विमोचन गरेका थिए । साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलले आफ्नो चौथो कृतिको रुपमा कविता तथा गीति संग्रह देश र आमाको विमोचन गरिएको बताइन् । उनले कविता तथा गितको माध्यमबाट देश र आमाको महत्व दर्शाएको बताइन् । कार्यक्रममा देवी संग्रौलाले पुस्तकको समिक्षा गरेका थिए भने प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईले साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलले साहित्यिक कृति प्रकाशन गरेर साहित्यको क्षेत्रमा एउटा इँटा थपेको बताइन् ।

साहित्यकार विनोद खनाल , विद्या निर्दोशी , अम्बिका घिमिरे ,युवा वैज्ञानिक शिवराज लिम्वू , चर्चित लोकदोहोरी गायिका कल्पना दाहाल ,  नेपाल लोकदोहोरी प्रतिष्ठान झापाका अध्यक्ष तथा लोकदोहोरी गायक  अच्युत दाहाललाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा  मृगौला पीडित वरिष्ठ वाद्यवादक फूर्वा योञ्जनलाई स्थानीय रामप्रसाद मैनालीले दश हजार रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठ , संस्थापक अध्यक्ष शिवशंकर थापा, सरगम संगीतालय बिर्तामोडका प्रवन्ध निर्देशक दिपक रायमाझीलाई हस्तान्तरण गरिएको थियो ।
सोही कार्यक्रममा काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित लोकगायिका कल्पना दाहालले नेपाल लोकदोहोरी प्रतिष्ठान झापाका अध्यक्ष तथा लोकदोहोरी गायक  अच्युत दाहालसंग  पूर्वेली भाकाको लोकदोहोरी गाएको मोडल जनक खड्काले बताए ।
त्यस्तै सरगम संगीतालय बिर्तामोडका कलाकारहरु कृपा पौडेल , अनुजा कडरिया , श्रद्धा प्रसाईले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला र मदनआश्रित चुडालले गरेका थिए । विर्तामोड –१ निवासी साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलका उपन्यासहरु ‘आधा सत्य’ ‘प्रेमिल’ ‘प्रेमकुण्ड’ र ‘मधुशाला बन्यो’ र ‘हाँसौ कसरी’ ‘न पिउँ त’ बोलको गीत र म्युजिक भिडियो समेत सार्वजनिक भइसकेका छन् ।