आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

जाडोमा सन्थाल समुदायलाई नयाँ सिरक


समृद्ध अनलाईन १८ पुष २०७७, शनिबार ०९:३१ मा प्रकाशित ( हफ्ता अघि) १०५ पाठक संख्या

अर्जुनधारा, पौष १८ गते । झापा गाउँपालिका–१ मिलनबस्तीमा रहेको सुकुम्बासी टोलका स्थानीय जाडोमा नयाँ सिक पाए पछि खुसी भएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लायन्स क्लब सुरुङ्गाको सहयोगमा नयाँ सिरक उपलब्ध गराए पछि उनिहरु खुसी भएका हुन् ।
सन्थाल समुदायको बसोवास रहेको उक्त बस्तीमा उनीहरूसँग पेट भर्नका लागि अन्न घरमा थन्क्याएका भए पनि जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउँन बाध्य रहेका थिए । वर्षौं आगोतापेर दिन विताएका उनीहरूलाई शुक्रबार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लायन्स क्लब सुरुङ्गाको सहयोगमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला सुकुम्बासी बस्तीमा न्यायो सिरक लिएर पुगेका थिए । उनीहरूले गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई साक्षी राखेर क्लवले ल्याएको फाइबरका ८२ थान सिरक सन्थाल परिवारलाई वितरण गरेका थिए।

ुरातभर पराल र दाउराको आगो तापेर रात बिताउँथे, आजदेखि सिरक ओढेर सुत्छु,ु झापा गाउँपालिका–१ सुकुम्बासी बस्तीकी ७० वर्षीया सुका हस्दाले सिरिक पाएपछि खुशी हुँदै भने । कपडा किनेर शरीर ढाक्न नसक्ने अवस्थाका उनीहरूलाई क्लबले दिएको न्यायो ओड्ने सिरकले खुशी ल्याएको छ ।

उनीहरू कन्काइ नदीको किनारमा वर्षौंदेखि बसोवास गर्दै आएका छन्। उनीहरूको बस्तीदेखि ५०० मिटर उत्तरमा कन्काइ नदी बगेको छ। जिल्लाकै विकट स्थानमध्ये यो वस्ती पनि रहेको गाउँपालिकाका अध्यक्ष साहले बताए। जहाँ सन्थाल समुदायको मात्र बसोवास रहेको छ । उनका अनुसार सुकुम्बासी बस्तीमा बसोवास गर्ने ८२ घर परिवार नै मजदूर र गाईबस्तु पालेर गुजारा चलाउँदै आएका छन् । उनीहरूको प्रायः हिउँदका रातहरू वर्षामा नदीले बगाएर ल्याएको मुढा र परालको आगो तापेर बित्ने गर्छ। प्रजिअ तिम्सिना र प्रहरी प्रमुख कोइरालाले प्रहरीले समाजमा विकृति विसङ्गति रोक्न, शान्ति र अमनचयन कायम राख्दै विपद्मा परेकालाई समुदायसँग मिलेर सहयोग पनि गर्दै आइरहेको बताए।

लायन्स क्लब सुरुङ्गाले विगतदेखि नै विपद्मा परेका र गरीब दुःखीलाई सहयोग गर्दै आएको छ। लायन्स क्लबका डिस्ट्रिक म्यानेजर लीला चिमरियाले यस वर्ष ४०० बढी परिवारलाई सहयोग गर्ने बताए। रासस