आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

पुनःनिर्माणपछि जापानले बुझायो विपी राजमार्ग


समृद्ध अनलाईन १५ माघ २०७७, बिहीबार १७:०२ मा प्रकाशित ( हफ्ता अघि) ३६९३ पाठक संख्या

काठमाण्डौं, माघ १५ गते। जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो ।

पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । उनले नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषी क्षेत्रमा जापान सरकारको योगदान अतुलनीय रहेको बताए ।

मन्त्री नेम्बाङ्गले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा गर्दै नेपालको विकास र समृद्धिको चाहाना परिपूर्ति गर्न नेपालका लागि जापनीय राजदुतमा सामिची साइगोको साथ र समन्वयको समेत प्रशंसा गरेका थिए । त्यस्तै जापनीज राजदुतमा सामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ संधै निरन्तर रहने बताए ।

राजधानीलाई पूर्वी तराईसंग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै ०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो । विपी राजमार्गको पुनःर्निर्माण सन् २०१९ जुलाई ३ मा जापानीज निर्माण कम्पनी हाजमा अण्डो करपोरेशनले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न भएको राजमार्गमा पुनर्निर्माणमा प्रयोग गरिने गिट्टी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो । गोरखापत्रबाट