आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

मेचीबगरको भरमा जीवन धान्दै भूमीहिन


समृद्ध अनलाईन २१ फाल्गुन २०७७, शुक्रबार ०६:२८ मा प्रकाशित ( महिना अघि) १६४६४ पाठक संख्या

सुष्मा तिखत्री, भद्रपुर, फागुन २१ गते । सुन्दा अचम्म लाग्छ, खोलाको बीच बगरमा खेती । हो, भद्रपुर–५ शान्तिछोल मेची नदीको किनारमा बस्ने भूमिहीन किसानले बीच बगरमा खेती गर्दै आइरहेका छन् । हरेक वर्ष कात्तिकदेखि चैतसम्म यहाँका किसानहरू बगरमै रहेका हुन्छन् । मेची बगरलाई हराभरा बनाउँछन् । यही मेचीबगर नै उनीहरूको परिवारको पेट भर्ने आधार बनिरहेको छ ।

बगरखेती गरी मेची किनारमा रहेका ६०–७० परिवारका २ सयभन्दा बढी स्थानीयले जीवन गुजारिरहेका छन् । चुनावको समय गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्ने भनी आश्वासन दिने गरेका नेताहरू चुनाव जितेपछि सर्वसाधारणको घरमा फर्किने चलन नभएकै कारण भूमिहीनहरूले बाँच्नका लागि बगरको भर पर्नुपरेको स्थानीय शैकर माझीको भनाई छ । भद्रपुर–५, शान्ति टोलका भूमिहीन किसानहरू मेची बगरकै भरमा बाँचिरहेका छन् । हिउँदमा अन्यत्र गएपनि जीविकोपार्जन गर्न अधिकांश समय मेचीबगरमै खेती गरिरहेको उनको भनाई छ ।


जीवन जीउने मुख्य आधार नै मेची बगर भएका कारण आफूहरूले सिजनमा सँधै खरबुजा लगाउँदै आएको स्थानीय काली महतोले बताइन् । चैत्र–बैशाख तथा गर्मीको सिजनमा मीठो र अत्याधिक बिक्री हुने भएका कारण पनि आफूहरूले बगरमा २० वर्ष अघिदेखि खरबुजा खेती गरेर परिवार पाल्दै आएको उनको भनाई छ । अन्य समयमा अन्यत्र काम गर्न जाने गरेपनि कार्तिकदेखि आफूहरूले बगर सुम्सुम्याउन थाल्ने गरेको उनले बताईन् । आफ्नो गर्न जग्गा जमिन नभएको र सँधै अरूकोमा काम नपाइने भएका कारण पनि वर्षौंदेखि आफूहरू बगरको भर पर्नुपरेको स्थानीयको भनाई छ ‌। कात्तिकदेखि चैतसम्म ६ महिना अवधिमा हरेक वर्ष बगरमा केही बिगाहा जमिनमा ४ देखि ५ हजारसम्म बिरुवा लगाइरहेको भूमिहीन किसान कनैया सनीले बताए। हरेक सिजनमा खर्च कटाएर २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले जानकारी दिए।

बगरमा खरबुजा मात्र होइन–काँक्रो, लौका, फर्सी र टमाटर लगायत सागसब्जी पनि रोपेर किसानहरूले आफ्नो परिवार पाल्दै आएको स्थानीय जात्रु राजवंशीको भनाई छ । छिमेकीहरूले झापाका मुख्य बजारलगायत विराटनगर इटहरी मात्र होइन, मेची बगरमा फलेको फलफूल र सागसब्जी संघीय राजधानी काठमाडौंसम्म पठाउने गरेको उनले बताए ।

भद्रपुर–५ शान्तिटोलमा बसोबास गरिरहेका अधिकांश सर्वसाधारणसँग आफ्नो स्वामित्वमा जग्गा–जमिन छैन । जमिन नभएका कारण मेची बगरलाई जीउने आधार बनाउँदै यहाँ ६० देखि ७० परिवार बसोबास गर्दै आएका छन्‌ ।​