आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

१२ जिल्लाका ७० लाख बढीलाई हात्तीपाइलेको औषधि खुवाइँदै


समृद्ध अनलाईन २० चैत्र २०७७, शुक्रबार ०९:०८ मा प्रकाशित ( हफ्ता अघि) ६८६९ पाठक संख्या

अर्जुनधारा, चैत २० गते । १२ वटा जिल्लामा आजदेखि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदैछ । झापा, मोरङ, धनकुटा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा औषधि सेवन कार्यक्रम सञ्चालन हुन लागेको हो।

हात्तीपाइले रोग निवारणका लागि १२ जिल्लामा आज देखि औषधि सेवन खुवाइन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार १२ जिल्लाका १ सय २९ स्थानीय तहका ७० लाख ४५ हजार जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ । नेपालमा अझै पनि करिब ३० हजार जना हात्तीपाइले रोगी रहेको अनुमानित सरकारी तथ्यांक रहेको छ।

हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग भएका कारण यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने र शरीरमा यसको परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छ। लक्षण देखिइसकेपछि यो रोग निको पार्न नसकिने चिकित्सकहरुले बताएका छन्।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु, कडा रोगको लागि औषधि सेवन गरिरहेकाहरु, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरूलाई यो औषधि खुवाउन हुदैन।