Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

ओखलढुंगा र खोटाङबाट १ सय ७२ खेलाडी प्रदेशस्तरीय खेलमा सहभागि हुँदै


समृद्ध अनलाईन ५ बैशाख २०७८, आईतवार १३:१५ मा प्रकाशित ( महिना अघि) २०१०० पाठक संख्या

ओखलढुंगा,बैशाख ५ गते । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङबाट ८४ र ओखलढुंगाबाट ८८ खेलाडी सहभागि हुने भएका छन् । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत दुई जिल्लाबाट १ सय ७२ खेलाडी प्रदेशस्तरीय खेलमा सहभागि हुने भएका हुन् ।
शुक्रबारदेखि प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी पठाउने उद्देश्यका साथ खोटाङमा दिक्तेलस्थित माटीकोरे र ओखलढुंगाको खिजीफलाटे खेलमैदानमा खेल समेत सुरु भएको छ । खोटाङमा प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, रावोबेँसी र दिप्रुङ चुइचुम्मा गाउँपालिका गरि पाँच स्थानीयतहका खेलाडी मात्र सहभागी भएका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाभक्त केसीले बताए । दश स्थानीय तह रहेको जिल्लाका केपिलासगढी, साकेला, जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिकाका खेलाडी उक्त प्रतियोगितामा सहभागी नभएका उनको भनाई छ । साकेला गाउँपालिकामा भएको गाउँपालिकास्थरीय छनोट प्रतियोगितामा सहभागीबीच झडप भएपछि गाउँपालिकास्थरीय प्रतियोगिता नै स्थगित भएकोे थियो ।
पर्याप्त बजेट नभएका कारण देखाउँदै जिल्लास्तरीय प्रतियोगितामा सहभागिता नजनाएका जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नका लागि भनेर एउटा स्थानीय तहमा रु एक लाखमात्र बजेट आउने गरेको तर उक्त रकमले खेल संचालन गर्न धौधौ भएका कारण स्थानीय तहले सहभागिता नै नजनाएका चाम्लिङको भनाई छ ।
ओखलढुंगामा पनि जिल्ला स्तरीय प्रतियोगिता जिल्लाको खिजीदेम्वा गाउँपालिकामा भई रहेको जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख बालकुमार खनालले बताए । उनका अनुसार ओखलढुंगाबाट ८८ खेलाडी ओखलढुंगाबाट सहभागि हुने छन् । १२ औँ सँस्करणको जिल्लास्तरीय प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । दुबै जिल्लामा जिल्लास्तरीय प्रतियोगितामा छात्रछात्रा भलिबल, सितोरियो कराँते, तेक्वान्दो, कबड्डी र एथलेटिक्सगरी पाँच विद्यामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
जिल्लाका लिखु, चम्पादेवी र खिजीदेम्वा गाउँपालिकाले मात्र यो वर्ष प्रतियोगितामा सहभागिता जनाएका छन् । पालिका, जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडी सहभागी गराउन कम्तिमा पनि रु पाँच लाख बजेट आवश्यक पर्ने देखिन्छ तर वजेट १ लाख मात्र हुँदा स्थानीय तहलाई खेलाडीसहभागि गराउन समस्या भई रहेको छ । जिल्लास्तरीय प्रतियोगिता अन्तरगत सबै विद्याका उत्कृष्ट खेलाडी छनोट गरेर ओखलढुंगाबाट ८८ र खोटाङबाट ८४ जना खेलाडी प्रदेश नं. १ को राजधानी विराटनगरमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने छ ।