आज:  | Thu, 13, May, 2021
FLASH NEWS

टुन्ज बराइलीलाइ बधाई तथा सम्मान


समृद्ध अनलाईन ५ बैशाख २०७८, आईतवार १६:३३ मा प्रकाशित ( हफ्ता अघि) ८०८१ पाठक संख्या

विर्तामोड, बैशाख ५ गते । राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले छुवाछुत र विभेदका घटनाहरुलाई सामुदायिकरण गर्नु पर्ने बताएका छन् । दलित जागरण अभियान केन्द्र नेपाल विर्तामोडले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई संबोधन गर्दै उनले विभेदका घटनालाई आम नागरिकले उठाउनु पर्ने र विभेद समाजको सामान्तबादी कुसस्कार भएको हुदा यसको अन्त्यको लागि जुझारु इमान्दार सामाजिक अभियन्ताहरुको  खाँचो रहेको बताए । दलितका मुद्धालाई वर्गीकरण गरी पिडितलाई न्याय दिन आयोग लागि पर्ने  प्रतिवद्धता जनाउँदै दलित अगुवाहरुलाई साँची राखेर दलित आयोगबाट दलित समुदायलाई न्याय दिन निरन्तर खट्ने बताएका थिए। कन्काई नगरपालिका ५ सुरुङ्गाका बलबहादुर विश्वकर्मालाई सोही ठाउँका मोहन घिमिरेले कुटपिट गरी मारेको घटनाको दलित आयोगले छानविन गरी रहेको बताउदै उनले निर्दोष विश्वकर्मालाई न्याय दिन दलित संघ संस्थाहरुको प्रत्यक्ष पहरेदारी हुनु पर्ने बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमला विश्वकर्माले समाजमा रहेको विभेद अन्तको कानुन बने पनि कार्यन्वयन फितलो रहेको बताईन् । त्यस्तै प्रदेश नं.१ का पूर्व सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले संविधानतः पाएको अधिकारको उपयोग सबै दलितहरु एक भएर लिनु पर्ने बताईन् । कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले आउदो ०७८ को जनगणना गर्न आउने गणकलाई दलित समुदाय भित्रका ब्यक्तिले थर र जात अनिवार्य रुपमा लेखाउन अनुरोध गरेका थिए । कन्काई नगरपालिका ५ सुरुङाको बल बहादुर विश्वकर्मालाई कुटपिट गरी मारेको घटनाको बिषयमा कन्काई नगरपालिकाको कार्यपालिका सदस्य सावित्रा वर्देवाले घटनाको सत्य तथ्य छानविन गरी निर्दोषलाई न्याय दिलाउन सबैलाई लागि पर्न अनुरोध गरेकी थिईन् ।
त्यस्तै गरि विर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटीले आयोगका सदस्य बराइलीलाई सफल कायकालको शुभकामना ब्यक्त गर्दै दलितका मुद्धामा राजनिती नगर्न आग्रह गरेका थिए । विर्तामोडमा भएको कार्यक्रममा दलित केन्द्रका अध्यक्ष छविलाल विश्वकर्माले दलित आयोगका सदस्य बराइलीलाई प्रमाण पत्र प्रदान गरी नेपाली टोपी लगाएर सम्मान गरेका थिए ।