Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

हामी नेपाली


समृद्ध अनलाईन ४ जेष्ठ २०७८, मंगलवार २०:१७ मा प्रकाशित ( महिना अघि) ८७८८ पाठक संख्या
-वासु गौतम
हौं स्वाधीन र सार्वभौम जनता यो देश नेपालका
सोझा छौँ तर हैन कायर कसै सन्तान हौं बुद्धका !
सादा जीवन सोच उच्च छ सधैं हौं कर्मयोगी पनि
बोकी ती खुकुरी खुँडा र भरुवा संसार हाक्यौं पनि !! १ !!
हामी धीर सदैव शान्ति प्रिय छौँ सच्चा इमान्दार छौं
डट्ने मानव मूल्य खातिर सधैं हामी नयाँ सोच हौं !
हामी एक अनेकमा विविधता हो शक्ति हाम्रो झनै
राख्छौं उच्च सहिष्णुता जतनले हामी सँगाली सधैं !! २ !!
छाड्दैनौं ‘सह नौ भुनक्तु’ कहिले आदर्श संस्कार यो
गर्छौं मानव धर्म पालन सधैं छौं सर्वदा जोसिलो !
हामी साहसिला सदैव हँसिला छौं फुर्तिला तेजिला
हिंसा हैन परोपकार ममता रोजाइ हाम्रो सदा !! ३ !!
हाम्रो आत्मिक एकता छ कसिलो टुट्दैन यो क्यै गरी
भाषा जात र धर्मले वतनको टुक्रिन्न माया कति !
हामी सौम्य र शान्त यो प्रकृतिका हौं पौरखी सन्तति
लाखौं दुर्लभ भेष संस्कृति कला छौं सभ्यतामा धनी !! ४ !!
केही थान विवेकहीन अगुवा स्वार्थी र लाछी हुदा
अप्ठ्यारो परिवेश सिर्जित भयो जागौं जुटौं हे युवा !
लाखौं ती हिम शैलको नव छटा न्यानो तराई उता
साच्चै सुन्दर बाग हो अवनिको नेपाल हाम्रो सदा !! ५ !!
वासु गौतम
पोकली, ओखलढुंगा
https://www.facebook.com/100002203321385/videos/3914928918590514/