Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

कोठा नि चाहिएन, कोटा नि चाहिएन!


समृद्ध अनलाईन १३ असार २०७८, आईतवार १८:४८ मा प्रकाशित ( महिना अघि) ६०६१ पाठक संख्या

-राजन रुचाल

काडमाण्डौं । ठिक छ त, एक कोठा पनि तपाईंकै । कोटा पनि तपाईंकै । अछुतहरुलाई केही पनि चाहिन्न । मिल्छ भने भएकाहरुको लालपुर्जा पनि खोस्नुस् । अझ सक्नुहुन्छ भने, चिहान भत्काइदिनुस् ।
आर्यघाटमा बन्देज लगाइदिनुस्। आखिर जिउँदै जलाइरहनु भएको छ, किन चाहियो चिता ? किन चाहियो आर्यघाट? किन चाहियो मरिसकेको शरीर छोप्ने माटो ? कोही एकजनाले सहरमा जात नमिल्दा कोठा पाएन । फेरि भन्दै छु, सम्झिनुस् है । सहरमा जात नमिल्दा कोठा पाएन । तपाईंलाई घटना थाहा छैन भने कुन सहर भन्ने पनि थाहा नहोला ।
त्यो हो, काठमाडौं सहर । राजधानी भएको छ । सिंहदरबार भएको सहर । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहर । देशमै सबैभन्दा बढी शिक्षित मानिसहरु बस्ने सहर । सहरमा घरहरु अग्ला छन् । भुइँमान्छेले भुइँबाटै हेर्दा आकाश छोलान् जस्ता देखिने घरहरु । ख्याल गर्नु भाछ ? बाटो, गल्ली र आँगन साँघुरा छन् । ठ्याक्कै सहरियाहरुको सोचाइ जस्तै साँघुरा ।
म बुझ्छु, तपाईंलाई लागि रहेको छ, सबै सहरियालाई एउटै डालोमा हाल्न मिल्दैन । ठिक हो स्वीकार्छु, तर पुरै डालोको आलु कुहाउन एउटै कुहिएको आलु काफी छ । सहर र सहरियाको कुरा अहिलेलाई यति नै ।

सोसल मिडियामा कोही लैख्दै थिए, ‘कोठा पाउनु छ भने, कोटा छोड ।’ कोही काउन्टर गर्दै थिए, ‘कस्तो सोच मित्र, कोठा र कोटा फरक कुरा हुन् ।’ त्यसै मध्येका मेरो एकजना मित्र, जो प्रतिष्ठित एनजिओमा राम्रै पदमा काम गर्छन् । उनले फेसबुकमा लेखे ‘जबसम्म जातको आधारमा आरक्षण दिइन्छ, तबसम्म विभेद हट्दैन ।’
अधिकांशले उनको भनाइमा सहमति जनाएको देखिन्थ्यो। मेरो अर्का मित्र जो मेलमिलापकर्ताको रुपमा काम गर्छन् उनले लेखेका थिए, ‘उनले जातकै कारण कोठा पाइनन्, मैले जातकै कारण कोटा पाइनँ। अब भन्नुस् म उजुरी गर्न कहाँ जाउँ ? खस आर्यको पीडा हजुर !’

झन्डै ५० जनाले कमेन्ट गरे अधिकांशले यसमा पनि सहमति जनाइदिए । ती दुईजना साथीको उमेर ३५ वर्ष कटेको छैन । उमेर किन भन्नुहोला । मान्छेहरु भन्छन् नि, पुरानो पुस्ता सकिएपछि जातको कुरा सकिन्छ । विश्वस्त छु, तपाईं सक्षम हुनुहुन्छ, उमेर र पुस्ताको हिसाब निकाल्न जान्नु भएको छ ।

यी उदाहरण मात्रै हुन् । उनीहरुले जे लेखे सभ्य भाषामा लेखे । लेख्न पाइन्छ । बहस गर्न पाइन्छ । नबुझ्न पनि पाइन्छ । सके बुझाउँला, नसके सहुँला । तर हेर्न र सुन्न नसक्ने गाली ट्विटर तिर भेटियो । तपाईंमा गाली सहने अद्भुत क्षमता छ भने, जानुस् । हेर्नुस्। पढ्नुस् । मन र आँखा भरिएमा मलाई माफ गर्नुस् ।

कोठाको कुरा त तपाईंले पनि बुझ्नु भएकै छ । हुन त ‘आफ्नो घरको कोठा दिने कि नदिने त्यो घरबेटीको स्वतन्त्रता हो’ भनेर फेसबुक तिर लेख्नेहरु पनि छन् । ठिकै हो, आफ्नो सम्पत्तिमा कसलाई राख्ने, कसलाई नराख्ने निर्णय गर्न व्यक्ति स्वतन्त्र छ ।

तर घरबेटीले कोठा सित्तैमा दिंदैन । उसले कसैलाई कोठामा बस्न दिए बापत, सरकारले तोकेको मापदण्डभन्दा बढी नै भाडा लिन्छ । तर कर तिर्ने बेला भाडा घटाएर देखाइन्छ ।
यसबारे थप बुझ्नु छ भने, आफू बसेको वडा कार्यालयमा गएर बुझे हुन्छ । जसले भाडा तिर्छ, ऊ बसुन्जेल त्यो उसकै कोठा हो । उसकै घर हो । यो सामान्य छ, यसमा गणितको सुत्र छैन। छ त केबल व्यवहार र सोचको सूत्र । पैसामा दिंदैमा जसलाई नि कोठा दिनुपर्छ त? पर्दैन। तर बहालमा बस्ने व्यक्तिको जात थाहा पाएपछि बस्न दिन्नँ भन्न पाइँदैन । कुनै पनि सर्तमा पाइँदैन। जसलाई पाइन्छ भन्ने लाग्छ, त्यस्तालाई के भन्नु ।

‘रछ्यान चलाए आफ्नै अनुहारमा छिटा’ भने जस्तो । माफ गर्नुस् योभन्दा तल्लो स्तरको शब्द मैले शब्दकोषमा भेटिनँ । उनीहरुको स्वरुप मात्रै मानवको हो । आवरण मानवको हुँदैमा, सबै मानव हुँदैनन् । मानव हुन त मनमा मानवता हुनुपर्छ । भाडाको कुरा छोड्नुस् । कसैलाई सित्तैमा घर वा कोठा दिंदै हुनुहुन्छ भनेपनि तपाईंलाई जात÷थर सोधेर फलानो जातलाई राख्दिनँ भन्ने स्वतन्त्रता छैन । थप बुझ्नु छ भने संविधानको धारा २४ पढे हुन्छ ।

‘मेरो सम्पति मेरो मर्जी’ भन्नेहरुले धारा २५ पढे हुन्छ । स्वतन्त्रताको कुरा गर्नेहरुले धारा १६ र १७ तिर आँखा डुलाए पनि हुन्छ । पढ्न सक्ने भएर पनि आफ्नै संविधान पढ्नु भएको छैन भने अब पढ्नुस् ढिला भएको छैन ।
कोठाको गन्थन यस्तै हो । खोज्दै जाँदा राम्रो घरबेटीकोमा नपुग्नु बहालवालाकै भाग्य खोटो । खोटो भाग्य भएकाहरुलाई कोटा ! यो झन् घोर आश्चर्यको विषय भयो । शिक्षामा पहुँच! सरकारी जागिरमा पहुँच! हुँदा–हुँदा सत्तामा पहुँच ! कसरी सहने ? सकिन्न, सक्दै सकिन्न ।
यो, एकाध मान्छेहरुको मत हो। विडम्बना, जुन बढ्दै गइरहेको छ । अल्लारेहरु यस्तै कुराहरुमा अल्मलिएका छन् । अधबैंसेहरु जात विशेषलाई आरक्षणको आधार खोजिरहेका छन् । पाको उमेरकाहरु पाकिसकेको कपाल नदुखाउने पक्षमा छन् ।
वर्षौंदेखि पिल्सिएकाहरुको पक्षमा बोल्नेहरु थोरै छन् । जसको आवाज बुलन्द हुन सकिरहेको छैन । किनकि जात विशेषको लागि बोलेर उनीहरु बा–आमाको मन दुखाउन चाहिरहेका छैनन् । यो लाइन तपाईंकै लागि लेखिरहेछु । कृपया सम्झनु होला ।
एउटा नमिठो कुरा सुनाउँछु है । कामी भएकै कारण धारोमा एउटा बालकको पालो अन्तिममा आयो । गाग्री भरिँदा, विष्टलाई देखेपछि बाटो छाड्दै र तर्किंदै घर पुग्दा, स्कुल जाने बेला घर्किसकेको थियो ।
आरनमा बसेका बाले फलाम तताएर ठिक्क पारेका थिए । ’दुई÷चार थप्पड हान्दे केटा ।’ घन हान्नै पर्यो । कता भातको गाँस टिप्न पाउनु ! झोला टिपेर स्कुल पुग्दा मास्टरले आधा जति पढाइसकेका थिए । भोको पेटमा कुखुरो बन्नै पर्यो ।
कुखुरो बन्दाबन्दै ऊ पछि पर्यो । हुन त एकाबिहानै घाँसको भारी ल्याएर स्कुल जाने विष्टका छोराछोरी पनि थिए । तर उनीहरुले धारामा कहिलै अन्तिम हुनु परेन । अनि धारामा अन्तिम भएको कामीको छोरो जिन्दगीभरि अन्तिम भइरहोस ? उसका सपनाहरु सधैं कुखुरा बनिरहुन् ? उसका पाखुराहरुले घन मात्रै उचालिरहुन् ? सानो उदाहरणले तपाईंको मन अमिलिएको भए फेरि पनि माफी चाहन्छु ।
फलानोलाई जातकै आधारमा कोटा किन ? प्रायःको प्रश्न यही छ । किसानलाई मलमा सहुलियत किन ? कसैले प्रश्न गर्दैनन् । किनकि किसान जात होइन, पेसा हो । पेसाले धेरथोर सम्मान पाउँछ । तर केही जातहरु वर्षौंदेखि अपमानको भारी बोकेर बाँचिरहेका छन् ।
आरक्षण, होचोलाई उचाइ दिने टुल हो । आँखा कमजोर हुनेका लागि चस्मा हो । हिँड्न नसक्नेका लागि खुट्टा हो । हामीले बितेर गएको समय मागेका होइनौं। हाम्रो भविष्य मागेका हौं ।
तपाईंको थालमा भएको खाना खोसेका हैनौं। हाम्रो थाल पनि रित्तो नहोस् भनेका हौं । तपाईं छिटो खान सक्नुहुन्छ भनेर तपाईं मात्रै अघाउने ? ढिलो खानेहरु भोकै बस्नु पर्ने ? यो न्याय हुनसक्छ ? बाटोमै छिर्किनी हालेर लडाउनु भयो । तपाईं कुद्नु भयो । हामी आउँदा आउँदै ढिला भयो । ढिला आउनेलाई पनि खाना राखौं है भन्दा, केको अर्घेलो ?
आरक्षणको विषयमा बहस हुनसक्छ । यद्यपि लिंग, भूगोल र विशेष अवस्थाको आधारमा पनि आरक्षणको व्यवस्था छ । आरक्षण समताको लागि हो। एकदिन समतामूलक समाज होला र आरक्षण हटेर जाला, आशा गरौं ।
हामीले औजार नबनाए के प्रयोग गर्छौ ? हामीले कपडा नसिलाए के लगाउँछौ ? हामीले बाजा नबजाए के सुन्छौ? यसो भन्न छोडौं । यो पुरानो डाइलगको हो । बासी भइसक्यो। यहाँ त हरेक कुराको विकल्प छ। काम र कामदारको विकल्प छ। पेसा र पैसाको विकल्प छ । कोठा र कोटाको विकल्प छ ।
त्यही भएर, हामीलाई पनि केही चाहिन्न । तिम्रो कोठा चाहिन्न । कोटा चाहिन्न । अधिकार चाहिन्न । सत्ता चाहिन्न । यसो भन्दा भन्दै एक दिन ६० लाख मान्छेहरुले भन्नु नपरोस्, महोदय हामीलाई तिम्रो देश चाहिन्न ।

(पछिल्लो समय रुपा सुनारलाई जात नमिलेको आधारमा काठमाण्डौंमा कोठा भाडा नपाएको बहस चलि रहेको अवस्थामा समय सान्धर्भिक ठानेर सेतेपाटीबाट जस्ताको तस्तै साभार )