Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

कविता ,छन्द : इन्दिरा


समृद्ध अनलाईन ५ भाद्र २०७८, शनिबार १३:३३ मा प्रकाशित ( महिना अघि) ४१४२ पाठक संख्या

निर्मम गरिबी

रहर लाख छन् योजना कयौं
सुखद कल्पना कामना सयौं !
सतत यत्नमा छैन कन्जुसी
तर छ जिन्दगी सर्वदा दुखी !! १ !!

विविध वेदना आर्तनाद छन्
मधुर चाहना सख्त रुग्ण छन् !
अटुट काममा जोतिदा पनि
जटिल सर्वदा धान्न जिन्दगी !! २ !!

न त छआडिलो रोजगार नै
सबल आयको स्रोत छैन क्यै !
रहर वैलिए ख्यालख्यालमै
नरक झै भयो जिन्दगी सधैं !! ३ !!

जलन भोकको टार्नु के गरि?
तन छ नग्न यो ढाक्नु के गरि? !
विकल जिन्दगी बोझिलो अहो!
जिउनु पेचिलो यातना भयो !! ४ !!

विगत बल्झिने घाउ भैदियो
न त छ भोलिको आड दर्बिलो !
फगत आँसुको तीब्र भेल यो
सकल जिन्दगी श्राप नै भयो !! ५ !!

वासु गौतम
पोकली, ओखलढुंगा