Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

प्रदेश १ मा बलात्कारका घटनाकाे डरलाग्दाे तथ्याङ्क, झापा माेरङ र सुनसरीमा अत्याधिक


समृद्ध अनलाईन २५ भाद्र २०७८, शुक्रबार २२:०४ मा प्रकाशित ( हफ्ता अघि) ८३८४ पाठक संख्या

ओखलढुंगा, भदौ २५ गते । पछिल्लाे समय  प्रदेश १ मा प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढि रहेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश १ मा पछिल्लाे तीन वर्षमा एक हजार पाँच सय बलात्कारका घटना भएका हुन् ।

पछिल्ला तीन वर्षको अवधिमा प्रदेश १ का विभिन्न जिल्लामा  एक हजार ६२५ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् । प्रदेशमा रहेका १४ जिल्लामा बर्सेनि औसत ५ सय बढीको संख्यामा जबरजस्ती करणीको घटना हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेकाे छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पर्देश १ मा  ५ वर्षे शिशुदेखि ७० वर्षीया वृद्धा समेत बलात्कारमा परेका छन् ।

विभिन्न जिल्लाकाे  तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश १ मा कुल ५९० वटा जबरजस्ती करणीका घटना भएका छन् । गत आर्थिक वर्षमा जबरजस्ती करणीको घटनामा १८ वर्षभन्दा माथि ५९ वर्षसम्मका ३१७ जना पीडित भएका थिए। यस्तै, ५ वर्षदेखि १८ वर्ष उमेर समूहमा २७० जना र ६० देखि ७० वर्ष उमेरका १२ जना जबरजस्ती करणीको घटनामा पीडित भएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशभर कुल ५५९ जबरजस्ती करणीका घटना भएका थिए भने आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभरि कुल ४७६ वटा जबरजस्ती करणीका घटना भएका छन् । जसमध्ये पाँच वर्षदेखि १८ वर्ष उमेर समूहका २७७ जना बलात्कारमा परेका छन् । सो आर्थिक वर्षमा ६० देखि ७० वर्ष उमेर समूहका १० जना वृद्धा बलात्कारमा परेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७0७/७८ मा प्रदेश १ का १४ जिल्लामा गरी बलात्कारका कुल ५९० घटना भएका छन् ।

ललाई फकाई तथा प्रेम विवाहको प्रलोभनमा पारेर यौनजन्य हिंसा गराउने प्रचलन बढी पाइएको प्रहरीले जनाएकाे छ ।  प्रत्येक वर्ष बलात्कारका घटनामा वृद्धि हुनु र आफन्तहरु नै त्यसमा संलग्न भएको पुष्टि हुनुले महिलाको सुरक्षामा चुनौती थपिएको महिला अधिकारकर्मी बताउँछन् । महिलामाथि हुने यौनजन्य हिंसा धेरैजसो त आपसी सहमतिमा मिलापत्र गरेरै टुङ्गिने गरेको पनि पाइने गरेकाे छ  ।

प्रदेश १ प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईका अनुसार सहरी क्षेत्रमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण यौनजन्य हिंसाका घटना बढेको हो । त्यस्ता घटना बढी हुने सहरी क्षेत्रमा प्रहरीले  निगरानी बढाएकाे उहाँकाे भनाइ छ ।  त्यस्ता प्रकृतिको घटनाका पीडकको उमेर समूह १६ देखि २५ वर्षका मानिसहरुको संख्या बढी छ भने पीडितको उमेर समूहमा १६ वर्षदेखि मुनि रहेकाे राइले बताउनु भयाे ।

जबरजस्ती करणीका अन्य कारणहरुमा डर त्रास, धाकधम्की तथा आर्थिक प्रलोभन हुने गरेको पाइएको छ । यसरी पीडित हुनेमा १८ देखि ३५ वर्ष उमेर समूहका महिला बढी रहेका छन् । नाबालिका तथा वृद्धा भने प्रतिकार गर्न नसक्दा बलात्कारमा पर्ने गरेका प्रहरी अनुसन्धानबाट खुल्ने गरेकाे प्रहरीले जनाएकाे छ ।धैरैजसो बलात्कारको घटनामा परिवारभित्रैको सदस्य र आफन्तबाट हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

झापा माेरङ र सुनसरीमा अत्याधिक

प्रदेश १ मा आर्थिक वर्ष २०७५/७६ मा बलात्कारका कुल ५५९ घटनामध्ये झापा, मोरङ र सुनसरीमा मात्र कुल ३४० घटना भएका प्रहरीले जनाएकाे छ । बाँकी ११ जिल्लामा २१९ त्यस्ता घटना भएको प्रहरीकाे तथ्याङ्कमा उल्लेख गरिएकाे छ ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा प्रदेश १ का १४ जिल्लामा गरी ४७६ बलात्कारका घटना भएकोमा झापा, मोरङ र सुनसरीमा मात्र कुल २७५ घटना भएका छन् । बाँकी ११ जिल्लामा २०१ त्यस्ता घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश १ का १४ जिल्लामा गरी बलात्कारका कुल ५९० घटना भएकोमा झापा, मोरङ र सुनसरी गरी तीन जिल्लामा मात्र ३४४ त्यस्तो घटना भएको पाइएको छ भने बाँकी ११ जिल्लामा २४६ वटा घटना भएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा मात्र प्रदेशमा ४४ वटा जबरजस्ती करणीका घटना भएका छन् । ती घटनामा ५ देखि १८ वर्ष उमेर समूहका २९ जना, १८ देखि ५९ वर्ष समूहका १३ जना र ६० देखि ७० वर्ष उमेर समूहका दुई जना बलात्कृत भएका छन् ।

हेरौं प्रदेश १ का १४ जिल्लाको तीन वर्षको तथ्याङ्क

स्रोतः प्रदेश प्रहरी कार्यालय विराटनगर