Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

धरानमा दशैं तिहार पछि मात्र विद्यालय खुल्ने


समृद्ध अनलाईन ४ आश्विन २०७८, सोमबार २१:२८ मा प्रकाशित ( हफ्ता अघि) ९५९६ पाठक संख्या

सुनसरी, असोज ४ गते । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले धरानमा दशैं तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय गरेको छ ।उपमहानगरपालिकाका मेयर तिलक राई असोज ४ बाट विद्यालय सञ्चालन गर्ने पक्षमा रहे पनि कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले दशैं तिहारपछि मात्र विद्यालयका भौतिक कक्षा सञ्चालन गर्नु पर्ने अडान राखेपछि सोहि अनुसार निर्णय भएको हो ।

कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले दशैंतिहार नजिकै आईसकेको र दशैं अगाडि १६ दिन मात्र विद्यालय खुल्ने, त्यसमाथि कोरोनाको जोखिम रहेकाले तत्काल खोल्न नहुने अडान राखेपछि दशैंतिहार पछि मात्र खोल्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

बुधबार अभिभावक सङ्घ धरान नगर समितिले दशैंतिहार पछि मात्र विद्यालय खोल्न माग गर्दै मेयर राईलाई ध्यानाकर्षण तथा सुझाव पत्र बुझाएका थिए । तर मेयर राईले असोज ४ बाट जसरी पनि विद्यालय खोल्ने तर त्यसकालागि स्वास्थ्य मापदण्ड आफुले निर्धारण गरिसकेको बताएका थिए । अभिभावकसँग सल्लाह नै नगरी र स्वास्थ्य अवश्था मूल्याङ्कन नगरी विद्यालय सञ्चालकको दबावमा स्कुल खोल्न लागिएको भन्दै अभिभावकले विरोध जनाएका थिए । उनीहरुले निजी स्कुलहरुले दशैंअघि १५ दिन भौतिक कक्षा सञ्चालन गरेर अभिभावकसँग पुरै शुल्क असुल्न मेयरलाई समेत प्रभावमा पारेको आरोप लगाएका थिए । बुधबार अभिभावक सङ्घका प्रतिनिधिहरुसँग पनि मेयर राईले आक्रोशित बन्दै विद्यालय जसरी पनि खोल्ने बताएका थिए । मेयर राईसँगको भेटपछि अभिभावकहरुले मेयर राईले निजी स्कुलका सञ्चालकको भाषा बोलेको र उनीहरुको हितका लागि विद्यालय खोल्न हतार गरेको आरोप लगाएका थिए ।

बुधबारको कार्यपालिकाको निर्णयपछि भने अभिभावकहरुले खुसी व्यक्त गरेका छन् । उनीहरुले कार्यपालिकाले सहि निर्णय गरेको प्रतिक्रिया दिएका छन् । सङ्घकी उपाध्यक्ष अनिता राईले कार्यपालिकाले समय सान्दर्भिक र अभिभावकको चाहना अनुरुपको निर्णय गरेको बताइन् ।