Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

ओखलढुंगामा चाडपर्वकालागि मूल्य छुटमा खाद्यान्न


समृद्ध अनलाईन १३ आश्विन २०७८, बुधबार ०७:५४ मा प्रकाशित ( हफ्ता अघि) २१६१५ पाठक संख्या

ओखलढुंगा, असोज १३ गते । नेपाल खाद्य संस्थान ओखलढुंगा शाखाले चाडपर्वका लागि मूल्य छुटमा चामल बिक्री गर्न थालेको छ । संस्थानले चाडपर्व लक्षित असोज १ गते देखि कात्तीक २४ गते सम्मका लागि “सहुलियत पसल २०७८” सञ्चालन गरेको हो ।

नेपालीहरुको महान चाड बडा दशैं, तिहार र छठको अवसरमा नेपाल सरकारले देशका ३९ जिल्लका ४३ स्थानबाट सहुलीयतदरमा चामल, नुन, चिनी, तेल, घिउ, दाल बिक्री गरिरहेको अवस्थामा ओखलढुंगामा भने चामल मात्रै बिक्री भइ रहेको छ । संस्थानको निर्देशन अनुसार खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले देशभर खाद्यान्नको मूल्यमा छुटको व्यवस्था गरे अनुसार जिल्लामा खाद्यान्नको मूल्यमा छुटको व्यवस्थासहित पसल सञ्चालन गरिएको कार्यालय प्रमुख रवनकुमार यादवले बताउनु भयो । संस्थानको गोदाममा रहेको ३०० क्वीन्टल चामलमा असोजको पहिलो सातामै १०० क्वीन्टल बिक्री भई सकेको उनको भनाइ छ । यादवका अनुसार यो वर्षबाट गाउँपालिकाको सिफारीस लिएर आएको खण्डमा प्रतिपरिवार १ बोरा दिइँदै आएको चामल २० देखि २५ परिवारलाई उपलब्ध गराउन थालीएको छ ।

जिल्लमा अहिले मौज्दात रहेको सोना मन्सुली चामल प्रतिकिलो ५ रुपैयाँका दरले छुट दिएर बिक्री वितरण भइरहेको छ । ३० किलोको बोरामा उपलब्ध चामल यसअघि प्रतिकिलो ४९ रुपैयाँमा विक्री गर्ने गरिएको भए पनि अहिले छुट दिँदा ४४ रुपैयाँले बिक्र भइ रहेको बताइएको छ । अव जिरा मसिनोको टेन्डर आव्हन गरि सकिएको कारण छुट दिने भनेको समयमा गोदाममा रहेको चामल सकिएमा अर्को चामल पनिआईपुग्ने यादवले बताए ।

देशका अन्य स्थानमा चामल, नुन, चिनी, तेल, घिउ, दाल बिक्री गरिरहेको भए पनि ओखलढुंगामा भने गोदाम पुरानो भएको कारण अन्य समानहरु भण्डारणमा समस्या आइ रहने भएकाले हाल जिल्लामा चामल मात्रै उपलब्ध रहेको छ । अहिले दैनिक १० क्विन्टलसम्म संस्थानको चामल बिक्री भइरहेको संस्थानले जनाएकोे छ ।