Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

करदाताको सङ्ख्या ह्वात्तै बढ्यो, ४० लाख नाघे स्थायी लेखा नम्बर लिने


समृद्ध अनलाईन १ मंसिर २०७८, बुधबार १९:५२ मा प्रकाशित ( हफ्ता अघि) ७५७६ पाठक संख्या

काठमाडौं, मंसिर १ गते । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको छ ।सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको हो ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४० लाख ४९ हजार १०९ पुगेको छ । व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७२६ र व्यावसायिक करदाता १५ लाख ७७ हजार ३८३ छन् । आव २०७७/७८ मा दुई लाख ४५ हजार ५६१ व्यावसायिक करदाता र पाँच लाख १७ हजार ३८३ व्यक्तिगत करदाता थपिएका थिए ।

कोरोना महामारीको प्रतिकूलताका बाबजुद पनि राजस्व असुलीमा ९५.३२ प्रतिशत प्रगति भएको विभागले जनाएको छ । आव २०७७र७८ मा रु ४२९ अर्ब २० करोड राजस्व असुली भएको थियो । यो आव २०७६/७७ को तुलनामा ११.६४ प्रतिशतले बढी हो । आव २०७७/७८ मा रु ४५० अर्ब ३४ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो ।

आव २०७७/७८ मा मूल्य अभिवृद्धि करतर्फ रु तीन खर्ब दुई अर्ब १६ करोड लक्ष्य निर्धारण गरिएकामा रु दुई खर्ब ८७ अर्ब छ करोड असुली भएको छ । यस्तै सोही अवधिमा रु दुई खर्ब ७७ करोड आयकर र रु एक खर्ब ३४ अर्ब नौ करोड अन्तःशुल्क सङ्कलन भएको छ ।

आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको कूल बेरुजु रु ४९ अर्ब ६१ करोड ४९ लाख १५ हजार रहेकामा गत आवमा रु २८ अर्ब ८६ करोड २६ लाख ९६ हजार फछ्र्योट भएको विभागले जनाएको छ । गत आवमा मूल्य अभिवृद्धि करतर्फ रु ३७ हजार ८६८ करदाता दर्ता भएको र हालसम्म दुई लाख ६८ हजार ४३६ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएको विभागले जनाएको छ ।

gorkhapatraonline.com बाट